खेलकुद विकास समितिको अध्यक्षमा नरजीत शाहीको दाबी



जुम्ला । खेल क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका युवा नरजीत शाहीले जिल्ला खेलकुद विकास समिति जुम्लाको अध्यक्ष पदमा आफ्नो आकांक्षा सार्वजनिक गरेका छन् । देशभर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चयन प्रक्रिया चलिरहेका बेला शाहीले पनि आफू नेतृत्वका लागि सक्षम उम्मेदवार भएको बताएका हुन् ।

हिमा गाउँपालिका–५ बुअ गाउँ निवासी शाही विगत २०६८ सालदेखि खेल क्षेत्रमा निरन्तर सक्रिय छन् । फुटबल खेलाडीका रूपमा यात्रा सुरु गरेका उनले स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै अनुभव बटुलेका छन् । पछिल्लो पाँच वर्षदेखि उनले प्रशिक्षक (कोच) तथा रेफ्रीको भूमिकामा समेत काम गर्दै आएका छन् ।

लामो अनुभव, अनुशासन र खेल व्यवस्थापनसम्बन्धी बुझाइका आधारमा आफूले अध्यक्ष पदमा दाबी प्रस्तुत गरेको शाहीले बताए ।

विगतमा राजनीतिक पहुँच र भागबण्डाका आधारमा हुने नियुक्ति अब परिवर्तन हुनुपर्ने उल्लेख गर्दै उनले योग्य, मेहनती र अनुभवी युवालाई नेतृत्वको अवसर दिनुपर्ने धारणा राखे ।

अध्यक्षमा चयन भए जुम्लाको खेल क्षेत्रलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने योजना रहेको उनले बताएका छन् । नियमित खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, विद्यालय तथा गाउँस्तरबाट प्रतिभा पहिचान गर्ने, पुराना खेलाडीलाई संरक्षण र प्रोत्साहन गर्ने तथा छनोट प्रक्रियालाई निष्पक्ष बनाउने उनको प्राथमिकतामा रहेका छन् ।

त्यसैगरी खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम विस्तार गर्ने, प्रशिक्षक तथा रेफ्रीहरूको दक्षता विकास गर्ने र जिल्लालाई प्रदेश तथा राष्ट्रिय प्रतियोगितामा सक्रिय सहभागिता गराउने योजना पनि उनले अघि सारेका छन् ।

“मसँग स्पष्ट योजना र लक्ष्य छ,” शाहीले भने, “जुम्लालाई खेलकुदको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित काम गर्नेछु ।”

उनले खेल पूर्वाधार सुधार, स्थानीय प्रतियोगिताको नियमित आयोजना तथा युवालाई खेलप्रति आकर्षित गर्ने कार्यक्रमलाई पनि प्राथमिकता दिने बताएका छन् । साथै, खेलाडी छनोट प्रक्रियामा कुनै पनि प्रकारको पक्षपात हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

हाल जिल्ला खेलकुद विकास समिति अध्यक्ष चयनका लागि सर्टलिस्ट तयार गर्ने प्रक्रिया जारी रहेको छ । सोही प्रतिस्पर्धामा आफू पनि रहेको उल्लेख गर्दै शाहीले सबै क्षेत्रको सहयोग पाए जुम्लाको खेल क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८३ जेठ ७ गते बिहीबार
अरु पनि पढ्नुहोस्