जुम्ला । नेपाल पत्रकार महासंघ जुम्ला शाखाको २१औँ साधारणसभा सदरमुकाम खलङ्गा बजारमा सम्पन्न भएको छ । सभामा शाखाको वार्षिक प्रगति विवरण, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि व्यापक छलफल गरिएको थियो ।
साधारणसभामा पत्रकारहरूको क्षमता विकास, प्रेस स्वतन्त्रताको संरक्षण तथा श्रम अधिकार सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पुर्ण प्रसाद चौलागाई ले सरकारले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन बन्द गरेर मिडिया क्षेत्रलाई आर्थिक संकटमा पार्ने प्रयास गरेको आरोप लगाउनुभयो । उहाँले पत्रकारलाई समाचार संकलनमै अवरोध सिर्जना गरी नागरिकलाई सूचनाबाट वञ्चित गराउने नीति अपनाइएको बताउनुभयो ।
चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायत ले विकास निर्माण तथा जनहितका कार्यमा महासंघसँग समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाइने बताउनुभयो ।
त्यसैगरी, गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा ले जुम्लाको पत्रकारिता क्षेत्रलाई थप सशक्त बनाउन पत्रकार महासंघको अक्षयकोषका लागि ५ लाख ५ हजार ५ सय ५ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेल ले पत्रकारहरूले सत्यतथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै पत्रकारिताको मूल धर्म विश्वसनीय सूचना प्रवाह नै भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्