जुम्लाको तिला गाउँपालिका–९ राँसामालापानीमा रहेको ज्योति माध्यमिक विद्यालय शुक्रबार आएको भीषण हावाहुरीका कारण पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। तीव्र हावाहुरीले विद्यालय भवनको छाना उडाउनुका साथै काठबाट निर्माण गरिएका अधिकांश संरचना भत्काएपछि विद्यालय भग्नावशेषमा परिणत भएको हो।
प्राकृतिक विपत्तिपछि विद्यालयका कक्षाकोठा, फर्निचर, शैक्षिक सामग्री तथा सौर्य ऊर्जा प्रणालीमा ठूलो क्षति पुगेको छ। केही समयअघिसम्म विद्यार्थीको चहलपहलले गुञ्जायमान रहने विद्यालय परिसर अहिले सुनसान बनेको छ भने पठनपाठनसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।
विद्यालय प्रशासनका अनुसार हावाहुरीबाट करिब ८ देखि १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। प्रधानाध्यापक मोतिराम बुढाले विपत्तिपछि विद्यालयको अवस्था निकै दर्दनाक बनेको बताउँदै विद्यार्थीहरूको शिक्षामाथि नै गम्भीर असर परेको बताए।
“हिजोसम्म यही विद्यालयमा बालबालिका रमाइरहेका थिए, आज सबै संरचना ध्वस्त बनेको देख्दा निकै पीडा लागेको छ,” उनले भने।
स्थानीयवासी हरिबहादुर थापाले ज्योति मावि गाउँका बालबालिकाको उज्यालो भविष्यको आधार भएको उल्लेख गर्दै दुर्गम क्षेत्रमा अभिभावकहरूले कठिन परिस्थितिमा पनि शिक्षा दिलाउन गरेको प्रयासमाथि प्राकृतिक विपत्तिले ठूलो चोट पुर्याएको बताए।
विद्यालयमा विद्युत् सेवा नपुगेकाले सौर्य ऊर्जा प्रणालीमार्फत पठनपाठन सञ्चालन हुँदै आएको थियो। तर हावाहुरीले सौर्य प्रणालीसमेत नष्ट गरेपछि शैक्षिक गतिविधि सञ्चालन गर्न थप समस्या उत्पन्न भएको शिक्षकहरूको भनाइ छ।
विद्यालय क्षतिग्रस्त बनेपछि विद्यार्थीहरू भावुक बनेका छन् भने अभिभावकहरू छोराछोरीको अध्ययन कसरी निरन्तर गराउने भन्ने चिन्तामा परेका छन्। स्थानीयको श्रमदान, समुदायको सहयोग र वर्षौँको मेहनतबाट निर्माण गरिएको विद्यालय केही क्षणको प्राकृतिक विपत्तिले ध्वस्त बनेपछि गाउँभर निराशा छाएको छ।
विद्यालय व्यवस्थापन समितिले नेपाल सरकार, कर्णाली प्रदेश सरकार, स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई, विभिन्न संघसंस्था तथा देश–विदेशमा रहेका नेपालीहरूसँग विद्यालय पुनर्निर्माणका लागि सहयोगको अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्