जुम्ला । कर्णाली क्षेत्रका नागरिकले भोग्दै आएका अभाव, संघर्ष, पीडा र आशाका कथालाई समेटिएको ‘कर्णाली तिर’ बोलको गीत सार्वजनिक गरिएको छ। गायक अर्जुन सुनार र समाना घतानेको स्वर रहेको उक्त गीत शनिबार एक कार्यक्रमका बीच विमोचन गरिएको हो।
गीतले कर्णालीका दुर्गम गाउँबस्तीको वास्तविक जीवनशैली, गरिबी, बेरोजगारी, विकासको पहुँचबाट टाढा रहेका समुदाय तथा अवसरको खोजीमा घरपरिवार छोड्न बाध्य युवाहरूको अवस्थालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।
सिर्जनामार्फत कर्णालीको सामाजिक यथार्थ र स्थानीय जनभावनालाई उजागर गर्ने प्रयास गरिएको छ।
गीतमा रविन भुसालको शब्द तथा संगीत रहेको छ। पृष्ठभूमि स्वरमा रविन भुसाल र महेन्द्र विकको साथ रहेको छ भने संगीत संयोजन पूर्ण सम्योगले गरेका छन्। तुलसी विश्वकर्माले भ्वाइस डबिङ, एचबीएन किस्मतले मिक्सिङ, मास्टरिङ तथा रेकर्डिङको जिम्मेवारी सम्हालेका छन्।
गीतको कथा कथाकार राजेश विश्वकर्माले तयार गरेका हुन्। उनले कर्णालीका बासिन्दाले वर्षौंदेखि भोग्दै आएका दुःख, अभाव, बसाइँसराइ र विकासको प्रतीक्षामा रहेका गाउँबस्तीको अवस्थालाई कथामार्फत जीवन्त बनाउने प्रयास गरेका छन्। कथाले कर्णालीको मौलिक जीवनशैली र जनजीवनलाई सशक्त रूपमा अभिव्यक्त गरेको छ।
भिडियोमा अर्जुन सुनार र राज्य लक्ष्मी नेपालीको मुख्य अभिनय रहेको छ। अतिथि कलाकारका रूपमा टिकाराम सुनार, कालिबहादुर सार्की तथा बाल कलाकार रोशनी सुनारले अभिनय गरेका छन्। भिडियोको छायांकन प्रकाश विश्वकर्माले गरेका हुन् भने ड्रोन दृश्य प्रकाश उपाध्यायले खिचेका छन्।
विमोचन कार्यक्रममा सञ्चारकर्मी, साहित्यकार, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।सहभागीहरूले ‘कर्णाली तिर’लाई केवल सांगीतिक प्रस्तुति नभई कर्णालीका जनताको आवाज, भावना र भोगाइलाई उजागर गर्ने सशक्त सिर्जनाका रूपमा व्याख्या गरेका थिए। उनीहरूको भनाइमा गीतले कर्णालीको यथार्थलाई कलात्मक माध्यमबाट व्यापक रूपमा प्रस्तुत गरेको छ।


प्रतिक्रिया दिनुहोस्