जुम्लाको पातारासी गाउँपालिकामा जुगाड खोला सरसफाइ अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन पालिका स्तरीय समिति गठन गरिएको छ। नवगठित समितिले सरसफाइ तथा वातावरण संरक्षणका गतिविधिसँगै विकास निर्माणका कामको निगरानी, पारदर्शिता प्रवर्द्धन र भ्रष्टाचारविरुद्ध जनस्तरबाट खबरदारी गर्ने प्रतिबद्धता जनाएको छ।
गोर्ख बहादुर बोहोराको संयोजकत्वमा गठन गरिएको समितिमा मोघ बहादुर बुढा, नैनसिंह बुढा, दीप बहादुर बिष्ट, तारा बहादुर बुढा, वीर बहादुर बुढा, डेनि खड्का, बिरेन्द्र खड्का, धन बहादुर बुढा, सम्झना बुढा, शर्मिला बुढा, नर बहादुर बुढा, सत्य कठायत, सरिता बुढा, जय बहादुर बोहरा, ऐन बहादुर बुढा, कमल बुढा, लालदेवी बोहरा, पासाङ बुढा तथा पूर्णराजलगायत सदस्य रहेका छन्।
अभियानका अभियन्ता उपेन्द्र बुढ्थापाका अनुसार यो अभियान केवल खोला तथा सार्वजनिक स्थलको सरसफाइमा मात्र सीमित नभई स्थानीय तहमा सञ्चालन हुने विकास निर्माणका योजनाको अनुगमन, गुणस्तर परीक्षण तथा सम्भावित अनियमितता र भ्रष्टाचारविरुद्ध नागरिकस्तरबाट निगरानी गर्ने उद्देश्यसहित अघि बढाइएको हो।
उनले चन्दननाथ नगरपालिकाबाट सुरु भएको अभियानलाई जिल्लाका सबै स्थानीय तहसम्म विस्तार गर्ने योजना रहेको जानकारी दिए।
अभियानमार्फत स्वच्छ वातावरण, विकास निर्माणमा पारदर्शिता, सुशासन तथा जनसरोकारका विषयमा नागरिक सहभागिता बढाउने लक्ष्य राखिएको छ।
समिति गठनसँगै पातारासी गाउँपालिकाको लासी बजार क्षेत्रमा सरसफाइ कार्यक्रमसमेत सम्पन्न गरिएको छ। कार्यक्रममा अभियानका अभियन्ता, स्थानीयवासी, सामुदायिक प्रहरी साझेदारी कार्यक्रमका प्रतिनिधि तथा नेपाल प्रहरीको सक्रिय सहभागिता रहेको थियो।
अभियानले वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन, सुशासनको अभ्यास तथा उत्तरदायी विकास निर्माणमा समुदायको सक्रिय भूमिका स्थापित गर्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले यस्ता अभियानले नागरिक सचेतना अभिवृद्धि गर्नुका साथै सार्वजनिक सरोकारका विषयमा जनसहभागिता बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्