जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–४ खामवाडामा जंगली भालुको आक्रमणबाट एक किसानले ठूलो क्षति बेहोर्नुपरेको छ। भालुले आक्रमण गर्दा आठ वटा भेडा मरेका छन् भने पाँच वटा अझै बेपत्ता रहेका छन्।
स्थानीय किसान नरेन्द्र अधिकारीले चिपिथाप्ला वन क्षेत्रमा चराउन लगिएका ४३ वटा भेडालाई मंगलबार राति ओडारमा राखेका थिए। सोही क्रममा जंगली भालुले भेडाको बथानमा आक्रमण गरेको प्रहरीले जनाएको छ।
आक्रमणबाट आठ वटा भेडा घटनास्थलमै मरेका छन् भने एक वटा भेडा घाइते भएको छ। पाँच वटा भेडा हराइरहेका छन्। बाँकी २९ वटा भेडा भने सुरक्षित रहेको जनाइएको छ।
घटनाबारे बुधबार दिउँसो करिब २ बजे जानकारी प्राप्त भएपछि प्रहरी चौकी झारज्वालाबाट प्रहरी सहायक निरीक्षक तारा बहादुर डाँगीको नेतृत्वमा दुई सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी झारज्वालाबाट करिब ७ किलोमिटर उत्तर–पूर्व तथा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट करिब १४ किलोमिटर पूर्वतर्फ पर्दछ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार घटनाको थप अनुसन्धान तथा क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको छ।
वन क्षेत्रमा जंगली जनावरको गतिविधि बढ्दै जाँदा स्थानीय पशुपालक किसानहरू त्रसित बनेका छन्। भालुको आक्रमणका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै स्थानीयले वन्यजन्तु नियन्त्रण तथा किसानको सुरक्षाका लागि प्रभावकारी उपाय अपनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्