काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को संसद् बैठकमा उपस्थिति सम्बन्धी अभिलेख परीक्षण गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले विधिवत् रूपमा हाजिरी जनाएको वा नजनाएको विषय स्पष्ट हुनुपर्ने बताएका हुन्।
साम्पाङले प्रतिनिधिसभा नियमावलीको नियम ४ को स्मरण गराउँदै प्रत्येक सांसदले बैठक कक्षमा प्रवेश गर्नुअघि हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति प्रणालीमार्फत अनिवार्य रूपमा उपस्थिति जनाउनुपर्ने व्यवस्था रहेको उल्लेख गरे। साथै, सदस्यहरूको उपस्थितिसम्बन्धी विवरण संसद् सचिवालयले विद्युतीय माध्यमबाट सार्वजनिक गर्न सक्ने प्रावधानसमेत नियमावलीमा रहेको उनले बताए।
बैठकलाई सम्बोधन गर्दै साम्पाङले प्रधानमन्त्री शाहले उक्त प्रक्रिया पूरा गरेको वा नगरेकोबारे प्रश्न उठाएका थिए। “प्रधानमन्त्रीज्यूले आजको बैठकमा हाजिरी गर्नुभएको छ कि छैन भन्ने कुरा स्पष्ट हुनुपर्छ,” उनले भने, “यदि उहाँले हाजिरी जनाउनुभएको छैन भने उहाँ प्रतिनिधिसभाको सदस्यका रूपमा नरहनुभएको ठहर हुन सक्छ।”
साम्पाङले प्रतिनिधिसभाको सदस्यता कायम नरहे प्रधानमन्त्री पदसमेत स्वतः खारेज हुने दाबी गर्दै यस विषयमा संसद् सचिवालयले स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्