काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत लामिछानेसँगको तस्बिर सार्वजनिक गर्दै नेपालसँगको सम्बन्धलाई अझ मजबुत र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मोदीले लामिछानेसँगको भेटलाई सुखद अनुभवका रूपमा उल्लेख गर्दै साझा विकास, समृद्धि र उज्ज्वल भविष्यका लागि सहकार्यलाई अघि बढाउने विषयमा सकारात्मक छलफल भएको बताएका छन्। उनले नेपाल भारतको ‘नेबरहुड फर्स्ट’ नीतिको प्रमुख साझेदार राष्ट्र रहेको उल्लेख गर्दै दुई देशबीचको सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
भारतीय प्रधानमन्त्रीले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा जनस्तरको सम्बन्ध विशेष महत्वको रहेको बताउँदै यसलाई आगामी दिनमा अझ प्रगाढ बनाउने लक्ष्य रहेको जनाएका छन्। उनले नेपालको नयाँ राजनीतिक नेतृत्वसँग मिलेर द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन्।
यता, रास्वपा सभापति लामिछाने नेतृत्वको टोलीले भारत भ्रमणका क्रममा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाट तथा संवादलाई निरन्तरता दिइरहेको छ। मोदीसँगको भेटलाई दुई देशबीचको राजनीतिक तथा कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
प्रधानमन्त्री मोदीको सार्वजनिक सन्देशले नेपाललाई भारतको विदेश नीतिमा उच्च प्राथमिकता दिइएको संकेत गरेको विश्लेषण गरिएको छ। साथै, आगामी दिनमा व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन तथा जनस्तरका सम्बन्धका क्षेत्रमा सहकार्य अझ विस्तार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्