जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–४, लाम्री गाउँका शिक्षक हरिबहादुर बुढा उत्कृष्ट शिक्षक पुरस्कारबाट सम्मानित भएका छन्। शिक्षण पेशाप्रतिको समर्पण, विद्यार्थीको शैक्षिक उन्नयनमा पुर्याएको योगदान तथा विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा खेलेको उल्लेखनीय भूमिकाको कदर गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो।
हाल ऋणमक्ष माध्यमिक विद्यालय, डिल्लीचौर मा अध्यापन गराउँदै आएका बुढाले लामो समयदेखि विद्यालय शिक्षाको विकास, विद्यार्थीमा सकारात्मक सोचको प्रवर्द्धन तथा सिकाइ उपलब्धि सुधारका क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छन्। उनको मेहनत, लगनशीलता र जिम्मेवारीपूर्ण कार्यशैलीका कारण विद्यालय तथा समुदायमा समेत सकारात्मक प्रभाव परेको बताइएको छ।
उत्कृष्ट शिक्षक पुरस्कार प्राप्त गरेपछि प्रतिक्रिया दिँदै बुढाले यो सम्मान केवल आफ्नो व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रसँग जोडिएका सबै सरोकारवालाको साझा सफलता भएको बताए। उनले प्राप्त सम्मानले आगामी दिनमा अझ बढी जिम्मेवार, सक्रिय र समर्पित भएर शिक्षण कार्यमा लाग्न प्रेरणा मिलेको उल्लेख गरे।
“शिक्षकको भूमिका केवल पाठ्यपुस्तकमा सीमित हुँदैन, समाज निर्माणको आधार तयार गर्ने महत्वपूर्ण जिम्मेवारी पनि शिक्षककै काँधमा हुन्छ,” उनले भने, “यो पुरस्कारले शिक्षाप्रतिको मेरो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।”
पुरस्कार छनोट तथा मूल्यांकन प्रक्रियामा विद्यालय प्रशासन, शिक्षा युवा तथा खेलकुद शाखा, शिक्षा विकास तथा समन्वय इकाई तथा शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको महत्वपूर्ण भूमिका रहेको थियो। बुढाले मूल्यांकन तथा सम्मानका लागि सम्बन्धित सबै निकायप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
शिक्षा क्षेत्रमा समर्पित शिक्षकलाई गरिएको यस्तो सम्मानले अन्य शिक्षकलाई समेत थप उत्साहित बनाउने विश्वास गरिएको छ।विशेषगरी दुर्गम कर्णालीका विद्यालयहरूमा सीमित स्रोत–साधनका बीच पनि गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर खटिरहेका शिक्षकहरूको मनोबल उच्च बनाउन यस्ता पुरस्कारले महत्वपूर्ण भूमिका खेल्ने शिक्षाविद्हरू बताउँछन्।
जिल्ला जुम्लाबाट माध्यमिक तहअन्तर्गत उत्कृष्ट शिक्षकका रूपमा सम्मानित हरिबहादुर बुढाको यो उपलब्धिलाई पातारासी गाउँपालिका तथा समग्र जुम्लाको शिक्षा क्षेत्रकै गौरवपूर्ण सफलताका रूपमा हेरिएको छ। स्थानीयवासी, सहकर्मी शिक्षक तथा शुभेच्छुकहरूले उनको उज्ज्वल शैक्षिक यात्राको प्रशंसा गर्दै आगामी दिनमा अझ धेरै सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्