जुम्ला — जुम्लाको तातोपानी गाउँपालिका–३ स्थित लाछु गाउँ नजिक कर्णाली राजमार्ग अन्तर्गत पर्ने सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी चिरञ्जीवी दाहालका अनुसार भे १ ट ८९३५ नम्बरको ट्याक्टर मंगलबार साँझ करिब ६ बजे तातोपानी गाउँपालिका–३ को खोलासडा क्षेत्रमा सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा तिला गाउँपालिका–४ निवासी ३५ वर्षीय खर्बेन्द्र शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। साथै, सोही स्थानका ५३ वर्षीय देउमनी सार्की गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको छ।
प्रहरीका अनुसार उक्त ट्याक्टर जुम्ला बजारबाट सामान बोकेर तिला गाउँपालिका–४ नुवाकोटतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो। ट्याक्टरका धनी वीरबहादुर शाही रहेका छन्।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्