जुम्ला, असार ८ — जुम्लाको चन्दननाथ नगरपालिका–२ खोलिकोटस्थित सामुदायिक वनमा भालुले आक्रमण गर्दा दुई वटा बाख्रा मरेका छन् भने तीन वटा बाख्रा बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार दिउँसो करिब २ बजे चन्दननाथ–२ का वखत बहादुर बुढथापा र वडा नं. ३ सान्तिनगरका बलबहादुर बुढथापाको संयुक्त बाख्रा गोठमा जंगली भालुले आक्रमण गरेको हो।
खोलिकोटबाट करिब ५ किलोमिटर उत्तरतर्फ रहेको राफैस्थित सामुदायिक वनमा रहेको गोठमा पालिएका ४३ वटा बाख्रामध्ये दुई वटा बाख्रालाई भालुले मारेको र तीन वटा बाख्रा हराइरहेको जनाइएको छ।
घटनाबारे दिउँसो १ः१५ बजे टेलिफोनमार्फत जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक हवल्दार दिपेन्द्र सिंह धामीको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब ९ किलोमिटर उत्तरमा पर्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान तथा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्