कृषिदेखि पर्यटनसम्म प्राथमिकता, चन्दननाथ नगरपालिकाको बजेट ५९ करोड ४६ लाख



जुम्ला, असार २४ – चन्दननाथ नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५९ करोड ४६ लाख ७१ हजार ४२७ रुपैयाँ ४० पैसा बराबरको बजेट सार्वजनिक गरेको छ। नगरसभामा प्रस्तुत बजेटले कृषि, स्वास्थ्य, सडक पूर्वाधार, पर्यटन विकास, वातावरण संरक्षण तथा सूचना प्रविधिमार्फत सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखेको छ।

नगर प्रमुख राजु सिंह कठायतले प्रस्तुत गरेको नीति तथा कार्यक्रम तथा उपप्रमुख रामदेवी खड्काले पेश गरेको बजेटमा संघीय, प्रदेश र आन्तरिक स्रोतबाट प्राप्त हुने आयलाई आधार बनाइएको छ। बजेटका अनुसार संघीय सरकारबाट करिब ४९ करोड ३७ लाख रुपैयाँ र प्रदेश सरकारबाट करिब ५ करोड ८४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

नगरपालिकाले आगामी वर्ष सडक सञ्जाल विस्तार र स्तरोन्नतिलाई विशेष महत्व दिएको छ। यातायात गुरुयोजना अनुसार विभिन्न सडक निर्माण तथा स्तरोन्नतिका योजनामा बजेट विनियोजन गरिएको छ। साथै नगर क्षेत्रमा निर्माण हुने भवनलाई अपाङ्गमैत्री, बालमैत्री तथा लैङ्गिकमैत्री बनाउने नीति अवलम्बन गरिएको छ।
कृषि क्षेत्रको आधुनिकीकरणलाई जोड दिँदै नगरपालिकाले कृषियोग्य जमिन बाँझो नराख्ने, कृषि यान्त्रिकीकरण, बीउ बैंक स्थापना, अर्गानिक खेती प्रवर्द्धन तथा विषादीमुक्त उत्पादन विस्तार गर्ने योजना अघि सारेको छ। युवालाई कृषि पेशातर्फ आकर्षित गर्न व्यवसायिक खेती, कृषि उद्यमशीलता तथा कृषि पर्यटन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

स्वास्थ्य सेवातर्फ प्रत्येक नागरिकलाई आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। मातृ तथा नवशिशु स्वास्थ्य सुधारका लागि आकस्मिक प्रसूति कोष स्थापना गरिने तथा स्वास्थ्य संस्थामा आवश्यक औषधि, उपकरण र जनशक्ति व्यवस्थापन गरिनेछ।
फोहोर व्यवस्थापन र वातावरण संरक्षणलाई समेत प्राथमिकतामा राख्दै आधुनिक सेनिटरी ल्याण्डफिल्ड निर्माण, वृक्षारोपण, जलाधार संरक्षण तथा वातावरणमैत्री विकास कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

पर्यटन प्रवर्द्धनका लागि चन्दननाथ मन्दिर, भैरवनाथ मन्दिर, गणेशगुफा, डुडुल चैत्य र दानसाँघु लगायतका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रचारप्रसार गरिने भएको छ। साथै पर्यटन सूचना केन्द्र स्थापना गर्ने योजना पनि बजेटमा समेटिएको छ।

 

सामाजिक सुधारअन्तर्गत बालविवाह न्यूनीकरण, महिला हिंसा नियन्त्रण, मानव बेचबिखन रोकथाम तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको संरक्षणका कार्यक्रम सञ्चालन गरिनेछन्। “नगरौं बिहेको कुरा, नहुँदै २० वर्ष पूरा” अभियानमार्फत बालविवाहमुक्त नगरपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ।

 

सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउन डिजिटल नागरिक वडापत्र, अडियो नागरिक वडापत्र तथा एकद्वार राजस्व प्रणाली लागू गरिनेछ। साथै नगरका विभिन्न स्थानमा सिसिटिभी जडानलाई निरन्तरता दिँदै सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाइने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटले समृद्ध, व्यवस्थित, वातावरणमैत्री तथा प्रविधिमैत्री नगर निर्माणको आधार तयार गर्ने अपेक्षा गरिएको छ।


 

 

प्रकाशित मिति : २०८३ असार १० गते बुधबार
अरु पनि पढ्नुहोस्