जुम्ला — जिल्लाका आठवटै स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। एक नगरपालिका र सात गाउँपालिका रहेको जुम्लामा यस वर्ष कुल ३ अर्ब ८२ करोड ५० लाख १ हजार ६६९ रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ।
स्थानीय तहहरूले संघीय सरकार, कर्णाली प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक आय तथा अन्य स्रोतलाई आधार बनाएर बजेट निर्माण गरेका हुन्। अधिकांश पालिकाले कृषि उत्पादन वृद्धि, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार, पर्यटन प्रवर्द्धन तथा सडक पूर्वाधार विकासलाई प्राथमिकताका साथ समेटेका छन्

पातारासी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड ४६ लाख ६ हजार ५३९ रुपैयाँको बजेट ल्याएको छ। गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराका अनुसार कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा सुधार, शिक्षा, रोजगारी सिर्जना र सडक पूर्वाधार विकासलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तय गरिएको छ।
पातारासीले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, खाद्य सुरक्षा, गरिबी न्यूनीकरण, ग्रामीण सडक विस्तार, खानेपानी तथा सरसफाइ, सामाजिक सुरक्षा र विपद् व्यवस्थापनका कार्यक्रमलाई समेत बजेटमा समेटेको छ। विकास आयोजनाको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकको जीवनस्तर उकास्ने लक्ष्य गाउँपालिकाले लिएको छ।
जिल्लाका अन्य स्थानीय तहहरूले पनि कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्दै बजेट सार्वजनिक गरेका छन्।

कुन पालिकाको बजेट कति?
चन्दननाथ नगरपालिका – ५९ करोड ४६ लाख ७१ हजार ४२७ रुपैयाँ
तातोपानी गाउँपालिका – ५४ करोड २८ लाख ८ हजार रुपैयाँ
तिला गाउँपालिका – ५० करोड ५१ लाख ७१ हजार रुपैयाँ
पातारासी गाउँपालिका – ४५ करोड ४६ लाख ६ हजार ५३९ रुपैयाँ
सिँजा गाउँपालिका – ४५ करोड ४८ लाख १८ हजार ५५७ रुपैयाँ
कनकासुन्दरी गाउँपालिका – ४५ करोड १२ लाख ७७ हजार ९७४ रुपैयाँ
हिमा गाउँपालिका – ४३ करोड ७९ लाख ६६ हजार रुपैयाँ
गुठीचौर गाउँपालिका – ३८ करोड ३६ लाख ८३ हजार १३२ रुपैया
स्थानीय तहहरूले आगामी वर्ष कृषि उत्पादन वृद्धि, पूर्वाधार निर्माण, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमार्फत समृद्ध जुम्ला निर्माण गर्ने लक्ष्य
लिएका छन्।

प्रतिक्रिया दिनुहोस्