बाख्रापालनबाट आत्मनिर्भर बन्दै गुठीचौरकी गौरी बस्नेत



आइएनएफ नेपालको सहयोगले विपन्न महिलाको जीवनमा नयाँ आशा

जुम्ला।। जीवनमा अवसरभन्दा संघर्ष धेरै हुन्छन्। विशेष गरी आर्थिक अभावमा बाँचिरहेका ग्रामीण महिलाका लागि आत्मनिर्भर बन्ने सपना सजिलै पूरा हुँदैन। तर, जुम्लाको गुठीचौर गाउँपालिका–१, मनिगाउँकी गौरी बस्नेत ले यही संघर्षलाई सफलतामा बदल्ने प्रयास गरिरहेकी छन्। अहिले उनी बाख्रापालन व्यवसायमार्फत आफ्नै खुट्टामा उभिने यात्रामा अघि बढेकी छन्।

वि.सं. २०४७ सालमा जन्मिएकी गौरी, बुबा मुनिराम रोकाया र आमा अनरुपा रोकायाकी छोरी हुन्। आर्थिक अवस्था कमजोर भएका कारण उनको परिवारले लामो समयसम्म अभावसँग जुध्नुपरेको थियो। आफ्नै मेहनतबाट परिवारलाई आत्मनिर्भर बनाउने उनको सपना थियो। तर आवश्यक लगानी र सहयोग नहुँदा त्यो सपना पूरा हुन सकेको थिएन।

गौरीको इच्छा घरपालुवा जनावर, विशेषगरी बाख्रा पालन गरेर नियमित आम्दानी गर्ने थियो। उनले विभिन्न निकायसँग सहयोगको अपेक्षा गरे पनि लामो समयसम्म कुनै सहयोग प्राप्त गर्न सकेकी थिइनन्। यही अवस्थामा आइएनएफ नेपाल, जिल्ला शाखा जुम्ला उनको जीवनमा आशाको किरण बनेर आयो।

आइएनएफ नेपालले सञ्चालन गरेको ENABLE परियोजना अन्तर्गत गुठीचौर गाउँपालिका–१ मा २०८१ साल कार्तिक १४ गते अमृत महिला स्वावलम्बन समूह गठन गरियो। समूहमा करिब २५ जना स्थानीय महिलालाई समेटिएको थियो। समूह गठनका क्रममा आइएनएफकी सामाजिक परिचालक लालमाया बस्नेत ले महिलाहरूलाई आत्मनिर्भरता, उद्यमशीलता, सहकार्य र सामाजिक उत्तरदायित्वका विषयमा प्रशिक्षण दिइन्

त्यही क्रममा गौरीको अवस्था र उनको इच्छाबारे जानकारी पाएपछि परिचालक बस्नेतले उनलाई भविष्यको योजना सोधिन्। गौरीले आफूलाई बाख्रापालन गरेर जीवन चलाउने ठूलो इच्छा रहेको तर आर्थिक अभावका कारण सम्भव नभएको बताइन्।

उनको वास्तविक आवश्यकता मूल्याङ्कन गरेपछि आइएनएफ नेपाल र अमृत महिला स्वावलम्बन समूहको सहकार्यमा गौरीलाई दुई वटा बाख्रा उपलब्ध गराइयो। यही सानो सहयोगले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो।

गौरी अहिले ती बाख्राको पालनपोषणमा व्यस्त छिन्। बाख्राको संख्या विस्तार गर्ने योजना बनाएकी उनी यसै व्यवसायबाट परिवारको आर्थिक अवस्था सुधार्ने लक्ष्यमा लागेकी छन्। नियमित आम्दानीको बाटो खुलेसँगै उनको आत्मविश्वास पनि बढेको छ।

गौरी भन्छिन्, “मलाई लागेको थियो मेरो सपना कहिल्यै पूरा हुँदैन। तर आइएनएफ नेपालले मलाई बाख्रा दिएपछि मेरो जीवनमा नयाँ आशा पलाएको छ। अहिले म मेहनत गरेर आफ्नै खुट्टामा उभिने प्रयास गरिरहेकी छु।”

उनले आइएनएफ नेपाललाई आफ्नो जीवनमा ठूलो सहयोग गर्ने संस्था भन्दै आभार व्यक्त गरिन्। “यो सहयोग केवल दुई वटा बाख्रा होइन, मेरो आत्मविश्वास र भविष्य निर्माण गर्ने अवसर हो,” उनी भन्छिन्।

सामाजिक परिचालक लालमाया बस्नेत का अनुसार संस्थाले विपन्न महिलालाई दिगो आयआर्जनतर्फ उन्मुख गराउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। महिलाहरूलाई सीप, सहकार्य र सानो आर्थिक सहयोगमार्फत आत्मनिर्भर बनाउने प्रयास भइरहेको उनले बताइन्।

गौरीको सफलताको यात्रा अहिले मनिगाउँका अन्य महिलाका लागि पनि प्रेरणाको स्रोत बनेको छ। उनीजस्तै आर्थिक अभावमा रहेका महिलाले पनि अवसर पाए आफूलाई स्थापित गर्न सक्ने उदाहरण गौरीले प्रस्तुत गरेकी छन्।

गौरीको एउटै चाहना छ—यस्तो सहयोग आफूमा मात्रै सीमित नहोस्। उनीजस्तै आर्थिक रूपमा कमजोर अन्य महिलाले पनि अवसर पाऊन्, आत्मनिर्भर बनून् र आफ्ना परिवारको जीवनस्तर सुधारून्।

ग्रामीण महिलालाई सानो सहयोगले पनि ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने सन्देश गौरी बस्नेतको जीवनकथाले स्पष्ट रूपमा दिएको छ। उचित अवसर, संस्थागत साथ र आफ्नै मेहनतको संयोजन भएमा विपन्नता अन्त्य गर्दै सम्मानित जीवन बाँच्न सकिने उनको संघर्षले प्रमाणित गरेको छ।

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रबार
अरु पनि पढ्नुहोस्