जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा केही औषधि खरिदसम्बन्धी टेन्डर रद्द हुँदा आवश्यक औषधिको अभाव भएको थियो। तर हाल निमित्त निर्देशक विनम्र बिष्टको पहलमा औषधिको आपूर्ति निरन्तर भइरहेको छ।
निमित्त निर्देशक बिष्टले प्रतिष्ठानमा बिरामीले आवश्यक औषधिको अभाव महसुस गर्न नपरोस् भन्ने उद्देश्यले सम्बन्धित निकायसँग समन्वय गरी औषधि आपूर्तिलाई नियमित बनाइएको जानकारी दिए।
उनले आफू हाल निमित्त निर्देशकको जिम्मेवारीमा रहेकाले केही नीतिगत तथा दीर्घकालीन निर्णय लिन कानुनी सीमितता रहेको बताए। तर श्रावण महिनापछि आवश्यक अधिकार प्राप्त भएपछि प्रतिष्ठानको हित, सेवा प्रवाहको सुधार, सुशासन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक परे कडा र दूरगामी निर्णय लिन आफू प्रतिबद्ध रहेको पनि उल्लेख गरे।
प्रतिष्ठानमा औषधिको नियमित आपूर्तिसँगै स्वास्थ्य सेवा थप प्रभावकारी र सहज हुने विश्वास व्यक्त गरिएको छ। साथै बिरामीलाई गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा प्रतिष्ठान निरन्तर लागिरहेको निमित्त निर्देशक बिष्टले बताए।

प्रतिक्रिया दिनुहोस्