जुम्लामा मोटरसाइकल दुर्घटना, दुई जना सामान्य घाइते



जुम्ला— जुम्लाको तातोपानी गाउँपालिका–३ लिताकोटस्थित जुम्ला–नाग्मा सडकखण्डमा शुक्रबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका छन्।

दिउँसो करिब २ बजे कर्णाली प्रदेश १ प ११७८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल बारीमा खस्दा दुर्घटना भएको हो।

 

दुर्घटनामा मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ घर भई हाल चन्दननाथ नगरपालिका–५ कालिखोलीस्थित पौवा होटलमा कार्यरत २२ वर्षीय दर्शन काफ्ले घाइते भएका छन्। उनको मुख र निधारमा सामान्य चोट लागेको छ।

त्यसैगरी मोटरसाइकलको पछाडि सवार सिंजा गाउँपालिका–५ निवासी २८ वर्षीय दिलीप रोकायाको दाहिने आँखामाथि सामान्य चोट लागेको प्रहरीले जनाएको

दुवै घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा लगिएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी लिताकोटबाट प्रहरी सहायक निरीक्षक विष्णुबहादुर थापाको नेतृत्वमा ट्राफिकसहित चार सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो।प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको छ। चालकले मादक पदार्थ सेवन नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने सवारीका कागजात साथमा नरहेको प्रहरीले जनाएको छ। मोटरसाइकललाई प्रहरी चौकी लिताकोटको नियन्त्रणमा राखिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रबार
अरु पनि पढ्नुहोस्