जुम्लामा चट्याङ पर्दा एक जनाको मृत्यु, दुई जना घाइते



जुम्ला — जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा रहेको एनसेल टावर नजिक बुधबार साँझ चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बेलुका करिब ५:३५ बजे भेडा गोठालो गएका स्थानीय करिब १८/१९ वर्षीय रबिन्द्र रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त घटनामा स्थानीय २० वर्षीय बलबहादुर रोकाया र करिब ३५ वर्षीय जगत रोकाया घाइते भएका छन्। दुवै जनाको अवस्था सामान्य रहेको जनाइएको छ।

चट्याङका कारण केही भेडाबाख्रा पनि मरेको प्रारम्भिक जानकारी प्राप्त भए पनि यकिन संख्या खुल्न बाँकी रहेको छ।

स्थानीय रंगबहादुर रोकायाले राति करिब ८:३० बजे प्रहरी चौकी बड्कीलाई घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८३ असार १७ गते बुधबार
अरु पनि पढ्नुहोस्