जुम्ला — जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध सेवन गरी सवारी साधन चलाएको आशंकामा पाँच जना सवारी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार असार १८ गते साँझ ४:०० बजे चन्दननाथ नगरपालिका–७ महतगाउँ नजिक कर्णाली राजमार्गमा जिल्ला प्रहरी कार्यालय जुम्ला र जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले संयुक्त रूपमा सवारी चालकहरूको लागुऔषध सेवन परीक्षण अभियान सञ्चालन गरेका थिए।
प्रहरी निरीक्षक निर्देश बरालको नेतृत्वमा खटिएको १६ सदस्यीय प्रहरी टोलीले लागुऔषध परीक्षण किटमार्फत चालकहरूको परीक्षण गर्दा पाँच जनाको नतिजा पोजिटिभ आएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमा चन्दननाथ नगरपालिका–१० का ३० वर्षीय विर्ख विक, २२ वर्षीय सम्पूर्ण नेपाली, २८ वर्षीय दीपक बुढा, २३ वर्षीय एकराज बुढा तथा तातोपानी गाउँपालिका–५ का १९ वर्षीय लालचन्द्र परियार रहेका छन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय जुम्लाको नियन्त्रणमा राखिएको छ। असार १९ गते जिल्ला अदालत जुम्ला बाट पाँच दिनको म्याद थप गरी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्