कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : बिरामीका लागि अस्पताल कि कर्मचारी पाल्ने थलो ?



जुम्ला। कर्णालीका दुर्गम जिल्लाका नागरिकका लागि अन्तिम भरोसाको केन्द्र मानिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाप्रति सेवाग्राहीको असन्तुष्टि दिनप्रतिदिन बढ्दै गएको छ। अत्याधुनिक उपकरणको अभाव, आवश्यक औषधि नपाइनु तथा विभिन्न परीक्षणको रिपोर्ट आउन लामो समय लाग्ने समस्याले तथा बिरामीहरू रिफर मात्र हुनुपर्ने खालका समस्या बिरामीहरूले सास्ती खेप्न बाध्य भएका छन्।

सेवाग्राहीका अनुसार एमआरआई, थाइराइड (ecg)   पेपर लगायतका   केही आवश्यक परीक्षण सहज रूपमा उपलब्ध नहुँदा धेरै बिरामीले बाहिरका अस्पताल धाउनुपर्ने अवस्था छ। रिपोर्टका लागि दुई–तीन दिनसम्म कुर्नुपर्ने, केही उपकरण बिग्रिएर प्रयोगविहीन रहने र आवश्यक औषधि पनि पटक–पटक अभाव हुने गरेको उनीहरूको गुनासो छ।

स्थानीय नागरिकहरू व्यङ्ग्य गर्दै भन्छन्, “अस्पताल बिरामीको उपचारका लागि बनेको हो कि कर्मचारीलाई तलब–भत्ता खुवाउन मात्रै?” उनीहरूका अनुसार भवन ठूला छन्, कार्यालय चलेका छन्, कर्मचारी छन्, तर बिरामीले खोजेको सेवा भने अझै पनि अधुरै छ।

कर्णालीका दुर्गम जिल्लाका नागरिकले ठूलो आशा बोकेको यो प्रतिष्ठानमा समयमै सेवा, पर्याप्त औषधि र आधुनिक उपकरणको व्यवस्था हुन नसकेपछि सेवाग्राही निराश बनेका छन्। नागरिकको प्रश्न छ—आशाको अस्पताल कहिलेसम्म केवल आश्वासनमै सीमित रहने?

सम्बन्धित निकायले नागरिकका गुनासोको गम्भीर रूपमा सम्बोधन गर्दै उपकरण सञ्चालन, आवश्यक औषधिको उपलब्धता र स्वास्थ्य सेवाको गुणस्तर सुधारतर्फ तत्काल ध्यान दिनुपर्ने आवाज सर्वसाधारणबाट उठिरहेको छ।

 

प्रकाशित मिति : २०८३ असार २० गते शनिबार
अरु पनि पढ्नुहोस्