एक सातामै तीन ठूला सडक दुर्घटना, सडक सुरक्षामा गम्भीर प्रश्न



काठमाडौं । देशका विभिन्न जिल्लामा एक साताभित्र भएका तीन ठूला सडक दुर्घटनाले सडक सुरक्षाको अवस्था र सरकारी तयारीमाथि गम्भीर प्रश्न उठाएको छ। वर्षायाम सुरु भएसँगै सडक दुर्घटनाका घटना बढिरहेका बेला प्रभावकारी रोकथामका उपाय अझै पर्याप्त रूपमा कार्यान्वयन हुन नसकेको देखिएको छ।

असार १८ गते दैलेखको कर्णाली राजमार्गमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने पाँच जना अझै बेपत्ता रहेका छन्। कर्णाली नदीमा पानीको बहाव तीव्र भएकाले खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको प्रशासनले जनाएको छ।

यस्तै, असार २१ गते डोल्पामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि जुम्ला पठाइएको छ। यसअघि बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका थिए।

प्रहरीका अनुसार वर्षायाममा सडक चिप्लिने, पहिरो जाने, सडक भासिने तथा दृश्यता कम हुनेजस्ता कारणले दुर्घटनाको जोखिम बढ्ने गरेको छ। चालकले यात्रा अघि सवारी साधनको प्राविधिक अवस्था जाँच गर्नुका साथै मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नुपर्ने सुझाव दिइएको छ

लगातार भइरहेका सडक दुर्घटनाप्रति संसदमा बेला–बेलामा आवाज उठ्ने गरे पनि सडक सुरक्षा सुधार, जोखिमयुक्त सडकको मर्मत, प्रभावकारी अनुगमन तथा सुरक्षित यातायात व्यवस्थापनका विषयमा सरकारले अपेक्षित गति लिन नसकेको भन्दै आलोचना बढ्दै गएको छ। सरोकारवालाहरूले दुर्घटना न्यूनीकरणका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति : २०८३ असार २२ गते सोमबार
अरु पनि पढ्नुहोस्