
जुम्ला। चन्दननाथ नगरपालिका–५ वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएका योजना, बजेट खर्च तथा सेवा प्रवाहको विवरण सार्वजनिक गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा वडाले वर्षभरि गरेका कामको समीक्षा प्रस्तुत गर्नुका साथै स्थानीय नागरिकबाट विकास निर्माण र सेवा प्रवाह सुधारका लागि सुझाव संकलन गरेको हो।
सुनुवाइका क्रममा स्थानीयवासीले ज्येष्ठ नागरिकमैत्री कार्यक्रमलाई थप प्रभावकारी बनाउन, बालबालिकाको स्वास्थ्य बीमा विस्तार गर्न, बाल क्लब गठन गर्न, घर निर्माणमा नक्सापास अनिवार्य लागू गर्न, जात्रा व्यवस्थापन व्यवस्थित बनाउन तथा विकास निर्माणका कार्यलाई गुणस्तरीय र पारदर्शी बनाउनुपर्ने सुझाव दिएका थिए।
ज्येष्ठ नागरिकका प्रतिनिधि धनमाया कठायतले ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन्। वडा सदस्य लक्ष्मी श्रेष्ठले सार्वजनिक सुनुवाइले नागरिकलाई वडाको बजेट, योजना र सेवा प्रवाहबारे जानकारी गराउनुका साथै जनप्रतिनिधिलाई थप जिम्मेवार र जवाफदेही बनाउने बताइन्। उनले स्थानीयवासीलाई रचनात्मक सुझावमार्फत वडाको विकासमा सहभागी हुन आह्वान गरिन्।
वडा अध्यक्ष बृखबहादुर कार्कीले आर्थिक वर्षभरि सम्पन्न भएका योजना, बजेट खर्च र आगामी प्राथमिकताबारे जानकारी दिँदै नागरिकले अधिकारसँगै आफ्नो कर्तव्य पनि निर्वाह गर्नुपर्ने धारणा राखे। उनले नगरपालिकाको केन्द्रमा रहेको वडा नं. ५ ले आवश्यकताअनुसार बजेट प्राप्त गर्न नसकेको उल्लेख गर्दै उचित बजेट सुनिश्चित गर्न नागरिकहरू एकजुट भएर आवाज उठाउनुपर्ने बताए। जनसहभागिता र सहयोगबिना वडाको समग्र विकास सम्भव नहुने उनको भनाइ थियो।
कार्यक्रममा वडा सचिव प्रेमानन्द न्यौपानेले आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन भएका योजना तथा बजेटको विस्तृत विवरण प्रस्तुत गरे। उनका अनुसार स्वास्थ्य बीमा, कम्प्युटर शिक्षण–सिकाइ, ज्येष्ठ नागरिक कार्यक्रम, एकल महिला क्षमता विकास, अग्नि नियन्त्रण तथा सरसफाइ तालिम, लागूऔषध न्यूनीकरण अभियान, बाल क्लबलाई खेलकुद सामग्री सहयोग, मन्दिर निर्माण तथा भिडियो डकुमेन्ट्री निर्माणलगायतका कार्यक्रम सञ्चालन गरिएको छ।
वडाको तथ्यांकअनुसार स्वास्थ्य बीमा कार्यक्रमका लागि विनियोजित ९ लाख ५० हजार रुपैयाँमध्ये ९ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ।
कम्प्युटर शिक्षण–सिकाइ कार्यक्रमअन्तर्गत ४५ जनाले डिप्लोमा तालिम पूरा गरेका छन् भने ज्येष्ठ नागरिक कार्यक्रमबाट ९६ जना र एकल महिला क्षमता विकास कार्यक्रमबाट २६ जना प्रत्यक्ष लाभान्वित भएका छन्।
कार्यक्रमको अन्त्यमा वडा कार्यालयले सार्वजनिक सुनुवाइका क्रममा प्राप्त सुझावलाई आगामी योजना, बजेट तथा कार्यक्रम तर्जुमामा प्राथमिकताका साथ समावेश गर्ने प्रतिबद्धताजनाएको छ।


प्रतिक्रिया दिनुहोस्