कर्मचारीको अनुपस्थितिबीच जुम्ला बहुमुखी क्याम्पसमा ६७औँ त्रिभुवन विश्वविद्यालय दिवस सम्पन्न



जुम्ला। जुम्ला बहुमुखी क्याम्पसमा ६७औँ त्रिभुवन विश्वविद्यालय स्थापना दिवस विविध कार्यक्रमसहित मनाइएको छ। बिहीबार बिहान ११ बजेदेखि आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा सरोकारवालाको सहभागिता रहेको थियो।

 

कार्यक्रमका क्रममा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जुम्ला बहुमुखी क्याम्पसका सभापति लोकेन्द्र बुढाले स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा अधिकांश कर्मचारी अनुपस्थित भएको भन्दै आपत्ति जनाए। उनका अनुसार क्याम्पसमा करिब ३० देखि ३५ जना कर्मचारी कार्यरत रहे पनि स्थापना दिवसको सांस्कृतिक कार्यक्रममा उनीहरूको सहभागिता देखिएन।

बुढाले त्रिभुवन विश्वविद्यालयको वार्षिक कार्यतालिका अनुसार स्थापना दिवस मनाउनुपर्ने व्यवस्था रहेकाले केही दिनअघि नै कार्यक्रम सञ्चालनबारे सूचना सार्वजनिक गरिएको भए पनि कर्मचारीहरू उपस्थित नभएको बताए। उनले विश्वविद्यालयको स्थापना दिवसजस्तो महत्वपूर्ण कार्यक्रममा कर्मचारीहरूको अनुपस्थितिले राम्रो सन्देश नदिएको उल्लेख गरे।

कार्यक्रमका सभाध्यक्ष तथा जुम्ला बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख पदमबहादुर शाहीले कर्मचारी अनुपस्थितिप्रति ध्यानाकर्षण भएको बताउँदै यसका लागि क्षमायाचना गरे। उनले यस वर्ष स्थापना दिवसलाई अझ भव्य रूपमा सांस्कृतिक कार्यक्रमसहित मनाउने योजना रहे पनि केही प्राविधिक तथा व्यवस्थापकीय कारणले त्यसअनुसार कार्यक्रम सञ्चालन गर्न नसकिएको स्पष्ट पारे।

शाहीले त्रिभुवन विश्वविद्यालय स्थापना दिवस मनाउने समय सबैलाई स्पष्ट जानकारी नहुन सक्ने उल्लेख गर्दै आगामी दिनमा समन्वयलाई थप प्रभावकारी बनाइने बताए। उनले यस्ता कमजोरी सुधार गर्दै आगामी वर्षहरूमा स्थापना दिवसलाई अझ व्यवस्थित, भव्य र सहभागितामूलक रूपमा आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहीबार
अरु पनि पढ्नुहोस्