भदौ ७ देखि जुम्लामा कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव गर्ने लोकदोहोरी प्रतिष्ठानको घोषणा, उद्योग वाणिज्य संघको महोत्सवप्रति आपत्ति



जुम्ला — राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति जुम्लाले आगामी भदौ ७ गतेदेखि १६ गतेसम्म जुम्लामा वृहत् कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने घोषणा गरेको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले महोत्सवका उद्देश्य, कार्यक्रम तथा तयारीबारे जानकारी गराएको हो।

प्रतिष्ठानका अध्यक्ष विश्वराज खत्रीले जुम्लाको कृषि उत्पादन, पर्यटनको सम्भावना, स्थानीय व्यापार र मौलिक कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको बताए। उनका अनुसार महोत्सवमा स्थानीय कलाकारसँगै राष्ट्रियस्तरका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ।

महोत्सव अवधिभर स्थानीय कृषि उपज, हस्तकला, उद्यमशीलता तथा पर्यटनसँग सम्बन्धित प्रदर्शनी स्टल सञ्चालन गरिनेछ। साथै लोकदोहोरी, देउडा तथा अन्य सांस्कृतिक कार्यक्रममार्फत स्थानीय पहिचानलाई थप प्रवर्द्धन गर्ने लक्ष्य राखिएको प्रतिष्ठानले जनाएको छ।

अध्यक्ष खत्रीका अनुसार टिकट बिक्रीबाट संकलन हुने रकम महोत्सव व्यवस्थापन, कलाकारको पारिश्रमिक, मञ्च निर्माण, प्राविधिक व्यवस्थापन तथा अन्य आवश्यक खर्चमा उपयोग गरिनेछ।

यसैबीच प्रतिष्ठानले जुम्ला उद्योग वाणिज्य संघले साउन २२ देखि भदौ ५ गतेसम्म आयोजना गर्ने घोषणा गरेको महोत्सवप्रति असन्तुष्टि जनाएको छ। प्रतिष्ठानको दाबीअनुसार उद्योग वाणिज्य संघले आवश्यक सरकारी स्वीकृति तथा अनुमति नलिई महोत्सव आयोजना गर्न लागेको छ।

प्रतिष्ठानले सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालन गर्न लागिएको महोत्सव रोक्न आग्रह गर्दै अन्यथा कानुनी उपचारको बाटो अपनाइने चेतावनी दिएको छ। साथै, आफ्नो मातहतमा आबद्ध कलाकारहरूलाई उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवमा सहभागी हुन नदिने निर्णयसमेत लिन सकिने जनाएको छ।

अध्यक्ष खत्रीले आवश्यक परे कानुनी रूपमा प्रतिवाद गरिने स्पष्ट पारे। यता, जुम्ला उद्योग वाणिज्य संघले भने यस विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

फरक–फरक मितिमा दुई संस्थाले महोत्सव आयोजना गर्ने घोषणा गरेपछि जुम्लामा सांस्कृतिक तथा व्यावसायिक कार्यक्रम सञ्चालनको विषय चर्चामा आएको छ। प्रतिष्ठानले भने आफ्नो महोत्सवलाई कृषि, पर्यटन, व्यापार र मौलिक कला–संस्कृतिको प्रवर्द्धन गर्ने साझा अभियानका रूपमा सफल बनाउन स्थानीय सरकार, सरोकारवाला निकाय, व्यवसायी तथा आम नागरिकको सहयोगको अपेक्षा गरेको जनाएको छ।

 

 

प्रकाशित मिति : २०८३ साउन ८ गते शुक्रबार
अरु पनि पढ्नुहोस्