जुम्ला — जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई ले बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) को अनुगमन तथा निरीक्षण गर्दै प्रतिष्ठानको सेवा प्रवाह, शैक्षिक गतिविधि, पूर्वाधार विकास तथा भावी योजनाबारे जानकारी लिनुभएको छ।
अनुगमनका क्रममा प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रोफेसर डा. सूर्यमान मेन्याङ्बो तथा निमित्त निर्देशक एसोसिएट प्रोफेसर डा. बिनम्र बिष्ट ले प्रतिष्ठानको वर्तमान अवस्था, सञ्चालन भइरहेका स्वास्थ्य तथा शैक्षिक कार्यक्रम, हालसम्म हासिल भएका उपलब्धि र आगामी दिनमा कार्यान्वयन गरिने विकास योजनाबारे विस्तृत जानकारी गराउनुभएको थियो।
उहाँहरूले कर्णाली क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, चिकित्सा शिक्षालाई थप प्रभावकारी बनाउने तथा संस्थागत क्षमता अभिवृद्धिका लागि प्रतिष्ठानले विभिन्न सुधारात्मक पहल अघि बढाएको जानकारी दिनुभयो।
प्रमुख जिल्ला अधिकारी प्रसाईले प्रतिष्ठानले दुर्गम कर्णालीका नागरिकलाई स्वास्थ्य सेवा र चिकित्सा शिक्षामार्फत पुर्याइरहेको योगदानको प्रशंसा गर्दै सेवाप्रवाहलाई अझ प्रभावकारी, सहज र नागरिकमैत्री बनाउन आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो।
निरीक्षण कार्यक्रममा नेपाली सेनाको देवीदत्त गण का गणपति प्रमुख सेनानी राजु केसी तथा जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहाल को समेत उपस्थिति रहेको थियो।
यस अनुगमनलाई प्रतिष्ठानको समग्र अवस्था, सेवा गुणस्तर र भावी कार्यदिशाबारे सरोकारवाला निकायबीच समन्वय तथा सहकार्य सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्