जुगाड खोला सरसफाइ अभियानको टोलीद्वारा KAHS का नवनियुक्त उपकुलपतिसँग भेट, फोहोर व्यवस्थापनदेखि सुशासनसम्म छलफल



जुम्ला — जुगाड खोला सरसफाइ तथा समाज रूपान्तरण अभियान, जुम्लाको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) शिक्षण अस्पतालका नवनियुक्त उपकुलपति प्रो. डा. सूर्यमान मेन्याङ्बो तथा निमित्त निर्देशक एसोसिएट प्रोफेसर डा. बिनम्र बिष्टसँग भेटघाट गरी प्रतिष्ठानको फोहोर व्यवस्थापन, सुशासन र सेवाप्रवाहलगायत विविध विषयमा छलफल गरेको छ।

अभियानका संयोजक उपेन्द्र बुढाथापा नेतृत्वको टोलीले प्रतिष्ठान परिसरको सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने, संस्थालाई समुदायको साझा सम्पत्तिका रूपमा संरक्षण गर्ने तथा समाज रूपान्तरणका अभियानसँग सहकार्य गर्ने विषयमा आफ्ना धारणा राखेको थियो।

संयोजक बुढाथापाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लावासीको साझा सम्पत्ति भएकाले यसको संरक्षण, सरसफाइ र विकासमा सबैको साझा दायित्व रहेको बताए। प्रतिष्ठानलाई अझ व्यवस्थित, स्वच्छ र सेवामुखी बनाउन नागरिक समाज र संस्थाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

भेटका क्रममा नवनियुक्त उपकुलपति प्रो. डा. सूर्यमान मेन्याङ्बोले प्रतिष्ठानलाई कुनै पनि राजनीतिक दबाब, नातावाद वा पक्षपातबाट मुक्त राखेर सुशासन, पारदर्शिता र सेवामुखी व्यवस्थापनका आधारमा अघि बढाइने स्पष्ट पारे। उनले विगतमा देखिएका विकृति, अव्यवस्था, नकारात्मक सोच तथा संस्थाभित्रको अस्वस्थ अभ्यासलाई अन्त्य गर्दै बिरामीमैत्री वातावरण निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताए।

उनले प्रतिष्ठानलाई सबैले आफ्नै घरआँगनको संस्थाका रूपमा अपनत्व ग्रहण गर्दै संरक्षण गर्नुपर्नेमा जोड दिँदै गुणस्तरीय स्वास्थ्य सेवा, अनुशासित कार्यसंस्कृति र स्वच्छ वातावरण निर्माणलाई प्राथमिकतामा राखिने उल्लेख गरे।

त्यसैगरी निमित्त निर्देशक एसोसिएट प्रोफेसर डा. बिनम्र बिष्टले प्रतिष्ठानमा देखिएका औषधि अभावलगायतका चुनौती समाधान गर्न व्यवस्थापन सक्रिय रहेको बताए। बिरामीले सहज, सरल र गुणस्तरीय सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ आवश्यक सुधारका कामलाई तीव्रता दिइएको उनले जानकारी दिए।

निर्देशक बिष्टले संस्थाभित्रका अव्यवस्था, नकारात्मक प्रवृत्ति र गलत अभ्यासलाई अन्त्य गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन व्यवस्थापन निरन्तर खटिएको दाबी गरे। बिरामीले पाउनुपर्ने सेवा–सुविधाबाट वञ्चित नहुने वातावरण सिर्जना गर्न आफूहरू चौबीसै घण्टा प्रतिबद्ध भएर काम गरिरहेको उनको भनाइ थियो।

भेटघाटका क्रममा सरसफाइ, संस्थागत सुधार, सुशासन, समुदायसँगको सहकार्य तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अझ विश्वासिलो र उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने विषयमा समेत विस्तृत छलफल भएको अभियान पक्षले जनाएको छ।

 

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतबार
अरु पनि पढ्नुहोस्