जुम्ला । खेलकुद विकास समिति जुम्लाको अध्यक्ष बन्ने आकांक्षा सार्वजनिक गरिरहेका युवा खेलाडी तथा फुटबल प्रशिक्षक नरजीत शाही यतिबेला काठमाडौंमा खेल क्षेत्रका चर्चित व्यक्तित्वहरूसँग भेटघाट र छलफलमा व्यस्त छन्। उहाँले यसलाई जुम्लाको खेलकुद विकासका लागि अनुभव र सुझाव संकलनको अभियान बताइरहनुभएको छ।
शाहीले नेपाली क्रिकेटका सफल प्रशिक्षक जगत टमटा, राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट तथा दक्षिण एसियाली खेलकुदका चार पटकका स्वर्ण पदक विजेता दीपक विष्टसँग छुट्टाछुट्टै भेट गरी जुम्लामा क्रिकेट, भलिबल, फुटबल र तेक्वान्दोको विकास, खेल पूर्वाधार निर्माण, प्रशिक्षक उत्पादन तथा प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुर्याउने विषयमा छलफल गर्नुभएको छ।
भेटमा खेल विज्ञहरूले जुम्लामा खेलकुदको राम्रो सम्भावना रहेको उल्लेख गर्दै दीर्घकालीन योजना, नियमित प्रशिक्षण, आवश्यक पूर्वाधार र स्थानीय तहबीच प्रभावकारी समन्वय भए राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने सुझाव दिएका छन्।
यद्यपि जुम्लामा अहिले अर्को प्रश्न पनि उठ्न थालेको छ— भेटघाटले मात्रै खेलकुद विकास हुन्छ कि योजना कार्यान्वयन पनि हुन्छ? खेलकुद क्षेत्रका धेरै सरोकारवालाले विगतमा पनि यस्तै प्रतिबद्धता धेरै सुनेको, तर व्यवहारमा परिणाम कम देखिएको टिप्पणी गर्दै आएका छन्।
शाही भने आफूले नेतृत्व गर्ने अवसर पाए खेलमैत्री वातावरण निर्माण, नियमित प्रतियोगिता सञ्चालन, दक्ष प्रशिक्षकको व्यवस्था, खेल पूर्वाधार विस्तार र युवा प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउने योजनाबद्ध काम गर्ने दाबी गर्नुहुन्छ।
अध्यक्षको कुर्सी अझै खाली छ, प्रतिस्पर्धा पनि बाँकी नै छ। तर काठमाडौंमा भएका भेटघाटले एउटा सन्देश भने दिएको छ— जुम्लाको खेलकुद अब भाषण र आश्वासनमै सीमित रहन्छ कि व्यवहारमै परिवर्तन देखिन्छ भन्ने परीक्षा समयले लिनेछ। अहिलेका लागि शाहीका भेटघाटलाई कतिपयले दूरदृष्टिको प्रयास भनेका छन् भने कतिपयले अध्यक्ष बन्नुअघिको ‘तयारी अभियान’ का रूपमा हेरेका छन्।
प्रतिक्रिया दिनुहोस्