जुम्ला, श्रावण १८ — जुगाड खोला सरसफाइ तथा समाज रूपान्तरण अभियान जुम्लाका संयोजक उपेन्द्र बुढथापा र प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई बीच जिल्लाको दीर्घकालीन फोहोर व्यवस्थापन, सुशासन, पारदर्शिता तथा शान्ति–सुरक्षासम्बन्धी विविध विषयमा विस्तृत छलफल सम्पन्न भएको छ।
छलफलमा चन्दननाथ नगरपालिका क्षेत्रको फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा व्यवस्थित बनाउन आवश्यक कार्यविधि तयार गरी प्रतिस्पर्धात्मक प्रक्रियामार्फत निजी कम्पनीलाई जिम्मेवारी दिने विषयमा गम्भीर छलफल भएको अभियानका संयोजक बुढथापाले जानकारी दिनुभयो। सोही क्रममा कम्पनीका प्रतिनिधिको उपस्थितिमा फोहोरको परिमाण, व्यवस्थापनको सम्भावना तथा उपयुक्त जग्गाको स्थलगत सर्वेक्षणसमेत गरिएको उहाँले बताउनुभयो।
छलफलपछि संयोजक बुढथापाले भन्नुभयो, “हाम्रो अभियान फोहोर व्यवस्थापनमा मात्र सीमित छैन। दीर्घकालीन फोहोर व्यवस्थापन, भ्रष्टाचारको अन्त्य, सुशासनको प्रवर्द्धन र प्रत्येक सरकारी कार्यालयलाई सेवाग्राहीमैत्री बनाउने उद्देश्यका साथ हामी निरन्तर लागिरहेका छौँ। शासन गर्ने ‘शासक’ होइन, जनताको सेवामा समर्पित ‘सेवक’ बन्ने संस्कृतिको विकास आजको आवश्यकता हो। यही सोचलाई व्यवहारमा उतार्नु नै हाम्रो अभियानको लक्ष्य हो।”
छलफलका प्रमुख विषयहरू
• दीर्घकालीन फोहोर व्यवस्थापन
चन्दननाथ नगरपालिका क्षेत्रमा फोहोर व्यवस्थापनलाई दिगो बनाउन आवश्यक कार्यविधि तयार गरी टेन्डरमार्फत निजी कम्पनीलाई जिम्मेवारी दिने विषयमा सहमति जुटाउने दिशामा छलफल भएको छ।
• अस्थायी प्रहरी चौकी निर्माण
वडा नम्बर २ र ३ को शान्ति–सुरक्षालाई थप प्रभावकारी बनाउन अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयमा छलफल भएको छ। चौकी निर्माणका लागि जग्गादान प्रक्रियाबारे पनि आवश्यक समन्वय भइरहेको जानकारी दिइएको छ। यसका लागि अभियानले सञ्चालन गरिरहेको “एक इट्टा अभियान” लाई समेत निरन्तरता दिइने भएको छ।
• धिमी–चेरे क्षेत्रमा फोहोर व्यवस्थापन तथा चेकपोस्ट स्थापना
धिमी–चेरे क्षेत्रमा फोहोर व्यवस्थापनसँगै चेकपोस्ट स्थापना गर्ने विषयमा समेत छलफल भएको छ। यसबाट फोहोर नियन्त्रणसँगै अवैध काठ तस्करी नियन्त्रणमा पनि प्रभावकारी सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
• बोहरागाउँ जाने झोलुङ्गे पुलको सुरक्षा
गत हप्ता अभियानका अभियन्ताहरूले गरेको स्थलगत अनुगमनका क्रममा स्थानीयले पुल क्षेत्रमा लागूऔषध प्रयोग, रातिको समयमा लुटपाटको जोखिम तथा सुरक्षासम्बन्धी गुनासा गरेका थिए। त्यसपछि अभियानले सडकबत्ती, सीसी क्यामेरा जडान तथा सादा पोशाकमा प्रहरी परिचालन गर्न आग्रह गरेको थियो। सोही अनुरूप प्रमुख जिल्ला अधिकारी प्रसाईले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक निर्देशन दिइसकेको जानकारी गराइएको छ।
• बजार अनुगमन र कालोबजारी नियन्त्रण
बजार क्षेत्रमा कालोबजारी नियन्त्रण, मूल्यसूचीको प्रभावकारी अनुगमन तथा म्याद गुज्रिएका सामग्रीको नियमित निरीक्षणलाई थप प्रभावकारी बनाउँदै जिल्लालाई सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई ले जुम्लाको समग्र विकासमा युवाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै दीर्घकालीन फोहोर व्यवस्थापन, सुशासन, पारदर्शिता र शान्ति–सुरक्षालाई सुदृढ बनाउन साझा कार्ययोजना तयार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले यस अभियानलाई सफल बनाउन युवाको सक्रिय सहभागिता, सहकार्य र सहयोग अपरिहार्य रहेको बताउँदै प्रशासनले आवश्यक समन्वय र साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
छलफलले जुम्लालाई स्वच्छ, सुशासित, पारदर्शी र सेवाग्राहीमैत्री जिल्ला बनाउने साझा लक्ष्यसहित आगामी दिनमा ठोस कार्ययोजना बनाएर अघि बढ्ने निष्कर्ष निकालेकोअभियानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्