बाटोमै सुत्केरी हुन बाध्य एक महिला : पातारासीको घटनाले स्थानीय सरकारको सेवा प्रवाहमाथि प्रश्न



जुम्ला — जुम्लाको पातारासी गाउँपालिका–३, हुरी गाउँकी पूजा बुढा बाटोमै सुत्केरी हुन बाध्य भएकी छन्। पहिली घर पेरे गाउँ भएकी बुढा स्वास्थ्य चौकी जाने क्रममा हुरी गाउँ नजिकको हुडिलाचौर क्षेत्रमा सुत्केरी भएकी हुन्।

घटनास्थलमा रहेका स्थानीय महिलाहरूले तत्कालै सुत्केरीको स्याहारसुसार गर्दै सुरक्षित प्रसूति गराउन सहयोग गरेका थिए। त्यहाँ उपस्थित केही स्थानीयले नवजात शिशु र आमाको उद्धार तथा आवश्यक सहयोगका लागि सक्रिय भूमिका खेलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

यस घटनाले कर्णालीका विकट बस्तीमा आधारभूत स्वास्थ्य सेवा, आकस्मिक उद्धार तथा सुरक्षित मातृत्व सेवाको अवस्था अझै कमजोर रहेको संकेत गरेको छ। सडक पुगेका स्थानहरूमा समेत समयमै एम्बुलेन्स, स्वास्थ्यकर्मी वा आवश्यक स्वास्थ्य सेवा उपलब्ध हुन नसक्दा सर्वसाधारणले जोखिमपूर्ण अवस्था भोग्नुपरेको स्थानीयको गुनासो छ।

स्थानीयवासीका अनुसार आपत्कालीन अवस्थामा गर्भवती महिलालाई नजिकको स्वास्थ्य संस्थासम्म पुर्‍याउने भरपर्दो व्यवस्था नहुँदा उनी बाटोमै सुत्केरी हुन बाध्य भएकी हुन्। घटनाले ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्व सेवा, एम्बुलेन्सको पहुँच र स्वास्थ्य पूर्वाधारलाई प्रभावकारी बनाउने विषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ।

स्थानीयहरूले यस्ता घटना दोहोरिन नदिन गर्भवती महिलाका लागि समयमै स्वास्थ्य सेवा, नियमित एम्बुलेन्स सञ्चालन र दुर्गम बस्तीमा आकस्मिक उद्धार प्रणालीलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

 

प्रकाशित मिति : २०८३ साउन १९ गते मंगलबार
अरु पनि पढ्नुहोस्