
जुम्ला । रसुवामा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका पातारासी गाउँपालिकाका नागरिकका परिवारको पीडामा साथ दिन जिल्ला प्रशासन कार्यालय जुम्लासहित स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायको टोली गाउँमै पुगेको छ। टोलीले बेपत्ता व्यक्तिको पहिचानका लागि डीएनए परीक्षणको प्रक्रिया अघि बढाउनुका साथै प्रभावित परिवारलाई राहत, खाद्यान्न र मनोसामाजिक परामर्श उपलब्ध गराएको छ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंको नेतृत्वमा जनस्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मी, आवश्यक स्वास्थ्य जनशक्ति तथा
मनोपरामर्शदातासहितको टोली पातारासी पुगेको हो। आफन्तको अवस्था अज्ञात रहँदा लामो समयदेखि मानसिक तनावमा रहेका परिवारसँग प्रत्यक्ष भेटघाट गर्दै टोलीले उनीहरूको अवस्था बुझ्नुका साथै आवश्यक सहयोगका लागि प्रक्रिया अघि बढाएको छ।
बाढीमा आफन्त बेपत्ता भएपछि परिवारहरू शोकसँगै अनिश्चितताको पीडामा छन्। बेपत्ता आफन्तको अवस्था पत्ता लाग्ने आशामा रहेका परिवारका लागि डीएनए परीक्षणको प्रक्रिया अघि बढ्नु महत्वपूर्ण कदम भएको स्थानीयको भनाइ छ।
तीन दिनभित्र प्रभावितको विवरण उपलब्ध गराउन आग्रह
प्रमुख जिल्ला अधिकारी प्रसाईंले पातारासी गाउँपालिकालाई बाढी प्रभावित तथा बेपत्ता परिवारको यथार्थ विवरण तीन दिनभित्र जिल्ला प्रशासनमा उपलब्ध गराउन आग्रह गरेका छन्।
उनले प्रभावित व्यक्तिको संख्या, उमेर, पारिवारिक अवस्था तथा हालको अवस्थासहितको तथ्यांक व्यवस्थित रूपमा संकलन गर्न गाउँपालिकालाई अनुरोध गरेका हुन्। वास्तविक पीडित परिवार पहिचान गरी राहत, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श तथा अन्य आवश्यक सहयोग प्रभावकारी रूपमा पुर्याउन तथ्यांक अत्यावश्यक रहेको उनले बताए।
प्रसाईंले विपद्को यस कठिन समयमा पीडित परिवारलाई प्रशासनले एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले प्रशासन तथा सम्बन्धित सबै निकाय पीडित परिवारको साथमा रहेको बताए।
प्रतिपरिवार ४१ हजार राहत
पातारासी गाउँपालिकाले तत्कालका लागि बाढीमा बेपत्ता भएका परिवारलाई प्रतिव्यक्ति ३० हजार रुपैयाँ राहत उपलब्ध गराएको जनाएको छ।
यसैबीच विभिन्न व्यक्ति तथा व्यवसायीबाट मानवीय सहयोगस्वरूप संकलन भएको ५ लाख ७७ हजार ४ सय १७ रुपैयाँ बेपत्ता परिवारलाई तत्काल राहतस्वरूप वितरण गरिएको छ। उक्त रकम प्रतिपरिवार ४१ हजार रुपैयाँका दरले हस्तान्तरण गरिएको हो।
अभियन्ता युवा उपेन्द्र बुढ्थापालगायतको पहलमा खाद्यान्न तथा आवश्यक सामग्रीसमेत संकलन गरिएको थियो। चामल, तेल, बालबालिकाका चप्पल, कपडा, चिउरा, भुजा, बिस्कुट र चाउचाउलगायत सामग्री गाउँपालिकामार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।
२३ जनाबाट जुट्यो साढे पाँच लाखभन्दा बढी सहयोग
बाढीपीडित परिवारका लागि विभिन्न स्थानमा रहेका २३ जना व्यक्ति तथा व्यवसायीबाट आर्थिक सहयोग जुटाइएको हो।
सहयोगमध्ये पातारासी–२ का जंगविर बोहराले सबैभन्दा बढी १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। उनले आफू सहित २३ जनाबाट रकम संकलन गरी पीडित परिवारलाई हस्तान्तरण गरेका हुन्।
रामचन्द्र पौडेल, कृष्णबहादुर पुन र छिरिङ फुन्जो लामाले जनही ५० हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
त्यसैगरी छबिलाल लामाले ३५ हजार, कुन्जाङ टसी लामाले ३० हजार, कैलाश चन्द्र शर्माले २५ हजार ५ रुपैयाँ तथा तेजबहादुर बम, धुर्बकुमार बैज्य र फुन्जोक लामाले जनही २५ हजार रुपैयाँ सहयोग गरेका छन्।
ग्याला लामा, पामा लामा र उर्गेन तामाङले जनही २० हजार, सर्किल जस्पाटले १५ हजार, कर्मी तुङ्गुले १० हजार ९ सय ५०, सूर्य कठायत (सूर्य साउजी) ले १० हजार १ सय २५ र विजय लामाले १० हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
पेमा छिरिङ लामा र गुनराज घिमिरेले जनही १० हजार, कुन्साङ लामाले ७ हजार ७ सय ७७, जयबहादुर कठायतले ७ हजार, नैसाङ नुर्बु तामाङले ५ हजार ५ र पूर्णबहादुर रोकायाले ५ हजार रुपैयाँ सहयोग गरेका छन्।
पातारासीका ६३ जना अझै सम्पर्कविहीन
पातारासी गाउँपालिकाका अनुसार रसुवामा आएको बाढीमा परी गाउँपालिकाका ६३ जना अझै सम्पर्कविहीन छन्। लामो समयसम्म आफन्तको अवस्था थाहा नहुँदा उनीहरूका परिवार गहिरो पीडा र प्रतीक्षामा छन्।
गाउँपालिका अध्यक्ष पूर्ण सिङ बोहोरा र उपाध्यक्ष जनमाया रोकायाले पीडितका लागि आवश्यक कानुनी व्यवस्था गरी राहत तथा सहयोगलाई व्यवस्थित बनाउने बताएका छन्।
उनीहरूका अनुसार जुम्लाका अन्य स्थानीय तह, विभिन्न संघसंस्था, सहयोगी व्यक्ति तथा व्यवसायीबाट प्राप्त हुने सहयोगलाई एकद्वार प्रणालीमार्फत संकलन तथा वितरण गर्ने तयारी भइरहेको छ।
‘सहयोगभन्दा ठूलो चाहना बेपत्ता आफन्तको अवस्था थाहा पाउनु हो’
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जुम्लाले हरेक वर्ष बाढी, पहिरो, चट्याङ, आगलागीलगायतका विपद्बाट मानवीय क्षति व्यहोर्दै आएको बताए। यसपटक रसुवाको बाढीले पातारासीका परिवारमा थप ठूलो पीडा निम्त्याएको उनको भनाइ छ।
उनले दुःखको समयमा पीडित परिवारलाई सबै क्षेत्रबाट साथ र सहयोग आवश्यक रहेको बताउँदै पीडालाई शक्तिमा बदल्दै अघि बढ्न आग्रह गरे।
तर राहत र सहयोगसँगै पीडित परिवारको मुख्य माग भने बेपत्ता आफन्तको अवस्था यथाशीघ्र पत्ता लगाउनु रहेको छ। उनीहरूले सरकारले खोज तथा उद्धारलाई प्रभावकारी बनाउँदै बेपत्ता आफन्तको वास्तविक अवस्था पत्ता लगाई सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
रसुवाको बाढीले पातारासीका परिवारमा गहिरो शोक र अनिश्चितता छोडेको छ। यस्तो अवस्थामा डीएनए परीक्षण, राहत सामग्री र मनोसामाजिक परामर्शले तत्कालीन पीडामा केही सहारा दिने भए पनि बेपत्ता आफन्तको अवस्था सार्वजनिक हुनु नै परिवारका लागि सबैभन्दा ठूलो राहत बन्ने देखिन्छ।
कार्यक्रममा जिल्ला समन्वय समिति जुम्ला, जिल्ला प्रशासन कार्यालय जुम्ला, स्वास्थ्य कार्यालय जुम्ला, सामाजिक विकास कार्यालय जुम्लालगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्