जुम्लामा नुनको पर्याप्त मौज्दात, दसैँ–तिहारमा अभाव नहुने



जुम्ला — चाडपर्वको चहलपहल बढ्दै जाँदा जुम्लामा नुनको अभाव हुने चिन्ता हटेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लाको डिपोमा हाल १ हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय जुम्लाका प्रमुख मुनिदत्त बुढाका अनुसार डिपोमा सुरुमा १ हजार ८१७ क्विन्टल नुन मौज्दात थियो। चालु आर्थिक वर्षको असोज १४ गतेसम्म ७६८ क्विन्टल नुन बिक्री भएपछि अहिले १ हजार ४९ क्विन्टल नुन बाँकी रहेको हो।

कार्यालय प्रमुख बुढाले दसैँ, तिहारलगायतका प्रमुख चाडपर्वका समयमा जिल्लामा नुनको अभाव हुन नदिने बताउनुभयो। “हाल मौज्दात पर्याप्त छ, आवश्यकता परे थप नुनसमेत ल्याउने व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो।

जुम्लामा सदरमुकाम खलङ्गासहित सिंजाको नराकोट र गुरुचौर गरी तीनवटा डिपोबाट नुन वितरण हुँदै आएको छ। नराकोट डिपोबाट हिमा र सिंजा गाउँपालिका तथा गुरुचौर डिपोबाट कनकासुन्दरी गाउँपालिकाका स्थानीयवासीलाई नुन उपलब्ध गराइँदै आएको छ।

चालु आर्थिक वर्षका लागि भने जुम्ला सदरमुकामसहित तीनवटै डिपोका लागि साल्ट ट्रेडिङ कर्पोरेसनको केन्द्रीय कार्यालयले छुट्टै नुनको कोटा निर्धारण गरेको छैन। त्यसका कारण स्थानीय आवश्यकता र खपतको अवस्थालाई हेरेर सदरमुकाम खलङ्गास्थित डिपोबाट नराकोट र गुरुचौर डिपोमा नुन पठाउने गरिएको कार्यालयले जनाएको छ।

यसैबीच, जिल्लामा नुनको आपूर्ति सहज बनाउन नेपालगन्जबाट थप नुन माग गरिएको साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लाले जनाएको छ। मागअनुसार थप नुन भित्र्याइने भएकाले आगामी दिनमा समेत अभाव हुन नदिने कार्यालयको भनाइ छ।

पछिल्लो समय जुम्लाका स्थानीय तहहरूले समेत सदरमुकामस्थित डिपोबाट नुन खरिद गरी आफ्ना वडामार्फत स्थानीय नागरिकलाई वितरण गर्न थालेका छन्। यसले दुर्गम गाउँका नागरिकलाई नुनका लागि सदरमुकामसम्म धाउनुपर्ने बाध्यता केही हदसम्म कम गरेको छ।

चाडपर्वमा अत्यावश्यक वस्तुको माग बढ्ने भए पनि हालको मौज्दात र थप आपूर्तिको तयारीका कारण जुम्लामा नुनको आपूर्ति सहज रहने साल्ट ट्रेडिङ कर्पोरेसनकोविश्वास छ।

 

 

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रबार
अरु पनि पढ्नुहोस्